१५४) अनि त्यस कष्टपछि अल्लाहले तिमीलाई सन्तुष्टि प्रदान गर्यो जसबाट तिमीहरूमध्येको एउटा समूहलाई शान्तिको निद्रा आउन लाग्यो, जबकि अर्कोतर्फ एउटा त्यो समूह पनि थियो, जसलाई आफ्नो प्राणको चिन्ता थियो उनीहरूले अल्लाहप्रति मूर्खतापूर्ण शंकाको कुरा गरिरहेका थिए र भन्दथे कि के हामीलाई पनि कुनै कुराको अधिकार छ र ? तपाई भनिदिनुस् कि सबै कुराहरू अल्लाहको अधिकार अन्तर्गत पर्दछन् । तिनीहरूले आफ्नो मनमा लुकाएर राखेका कुरा तपाई सम्मुख प्रकट गर्दैनन् । भन्दथे कि यदि हाम्रो अधिकारभित्र केही कुरा भएको भए हामी यहाँ किन मारिन्थ्यौं ?। तपाई भनिदिनुस् कि यदि मारिनु नै तिम्रो भाग्य भएको भए, तिमी आफ्नो घरहरूमा भए पनि निश्चितरूपमा आफ्नो मृत्युस्थलतिरै निस्किजाने थियौ । कि अल्लाहले तिम्रो छाती भित्रको कुराको परीक्षा गर्नु र तिम्रो हृदयमा जे छ त्यसलाई पवित्र गर्नु थियो र अल्लाह हृदयहरूमा भएका भित्री कुराहरू राम्ररी जान्दछ ।
१५५) तिमीहरूमध्ये जुन मानिसहरू भागिहाले, त्यसदिन जब दुई समूहहरूको बीच भिडन्त भएको थियो, । तिनीहरू आफ्ना केही क्रियाकलापका कारण शैतानको जालमा परिहाले, तर अल्लाहले तिनका त्रुटिहरूलाई क्षमा गरिदियो निःसन्देह अल्लाह क्षमाकर्ता र सहनकर्ता छ ।
१५६) हे मोमिनहरू ! तिमी ती मानिसहरू जस्तो नहुनु जसले ‘‘कुफ्र’’ गरे र आफ्ना भाइहरूको बारेमा जो यात्रा गरिरहेको अथवा जिहादमा संलग्न हुन्छन् भन्नथाले कि यदि तिनीहरू हाम्रो साथमा भएको भए न त मर्दथे, न त मारिन्थे, यसको कारण यो थियो कि अल्लाहले तिनीहरूको हृदयमा त्यस्तो आकांक्षाको सृजना गरिदिन्छ । र जीवन र मृत्यु त अल्लाह नै दिन्छ र अल्लाह तिम्रा सम्पूर्ण क्रियाकलापलाई हेरिराखेको छ ।
१५७) र यदि तिमीहरू अल्लाहको मार्गमा शहीद हुन्छौ अथवा आफ्नो मृत्यु मर्दछौ भने निःसंदेह यिनीहरूले संकलन गरिरहेको (धनसम्पत्ति) भन्दा अल्लाहको क्षमादान र दया धेरै राम्रो छ ।