११७) यी अनास्थावादीले यो जीवनमा जुन धन खर्च गर्दछन् त्यसको उदाहरण त्यस हिउँले भरिएको बतास जस्तो छ, जुन अन्याय गर्ने मानिसहरूको खेतीको माथि चल्यो र त्यसलाई तहस नहस पारिदियो । अल्लाहले तिनीहरूमाथि कुनै अत्याचार गरेको छैन, बरु तिनीहरू आफैले आफूमाथि अत्याचार गरिराखेका छन् ।
११८) हे मोमिनहरू ! ईमान ल्याएका बाहेक अरुलाई आफ्नो घनिष्ट मित्र नबनाऊ । तिमी त देख्दैनौ, यी मानिसहरूले तिमीहरूलाई बर्बाद पार्नुमा कुनै कसर बाँकी राख्दैनन् र यिनीहरू चाहन्छन् कि (जसरी पनि) तिमीलाई कष्ट पुगोस् । तिनीहरूका मुखबाट त शत्रुता प्रकट भइसकेको छ र जुन (छलकपट) तिनका छातीमा लुकेको छ, त्यो त झन् धेरै छ । हामीले तिमीलाई आफ्ना आयतहरू स्पष्ट गरिदिइसकेका छौं यदि तिमी बुझदछौ ।
११९) तिमीहरूसंग बुद्धि भए आफै हेरिहाल कि तिमी त तिनीहरूलाई चाहन्छौ तर तिनीहरू तिमीसँग प्रेम गर्दैनन् । तिमी सबै ग्रन्थहरूमा विश्वास गर्दछौ । (तिनीहरू मान्दैनन्) तिनीहरूले तिमी सामु ईमान ल्याएको स्वीकार गर्दछन् र जब तिमीबाट अलग हुन्छन् त तिमीसँग क्रोधको कारणले आफ्नै औंला टोक्न थाल्दछन् । भनिदेऊ ! कि तिमीहरू अफ्नै क्रोधमा मरिहाल, अल्लाह तिम्रा हृदयका रहस्यहरूलाई राम्ररी बुझ्दछ ।
१२०) यदि तिमीलाई भलाई प्राप्त हुन्छ भने तिनलाई नराम्रो लाग्छद, यदि तिमीलाई दुःख हुन्छ भने तिनीहरू खुशी हुन्छन् । यदि तिमीले संतोषगरी अल्लाहबाट डर मान्छौ भने, तिनका षड्यन्त्रले तिमीलाई केही पनि नोक्सान पुर्याउन सक्ने छैन । अल्लाहले तिनीहरूले गर्ने क्रियाकलापको घेराबन्दी गरिसकेको छ ।
१२१) हे नबी, त्यस समयलाई पनि स्मरण गर जब बिहान–बिहानै तपाईले आफ्नो घरबाट शीघ्र प्रस्थान गरी ईमानवालाहरूलाई युद्ध क्षेत्रका मोर्चाहरूमा (जङ्गे उहुद्) सुव्यवस्थित तरिकाले खटाइराखेका थियौ । र अल्लाह सबै कुरा सुन्ने र जान्नेवाला हो ।