३८) र जसले चोरी गर्दछ, चाहे त्यो पुरुष होस् अथवा स्त्री, तिनीहरूको हात काटिहाल । यो तिनीहरूको कर्मको सजाय र अल्लाहबाट एउटा पाठ हो, र अल्लाह सर्वशक्तिमान र तत्वदर्शी छ ।
४०) के तिमीलाई थाहा छैन कि आकाशहरू र पृथ्वीमा अल्लाहकै राज्य छ ? जसलाई चाहन्छ दण्डित गर्दछ र जसलाई चाहन्छ क्षमा गर्दछ । र अल्लाह प्रत्येक कुरामाथि शक्ति सम्पन्न छ ।
४१) हे पैगम्बर ! जुन मानिसहरू आपसमा अवज्ञाकारितामा प्रतिस्पर्धा गर्ने गर्दछन् तिनीहरूको पछाडि नपर्नुस्, तिनीहरूमध्ये केही यस्ता छन् जो मुखले भन्दछन् कि हामी मोमिन हौं तर तिनको आत्माले ईमान ल्याएको हुँदैन र यहूदीहरूमध्ये केही यस्ता छन् जो गलत कुरा सुन्न अभ्यस्त छन् र तिनीहरूको जासूसी गर्दै हिंड्दछन् जुन अहिलेसम्म तपाईंकहाँ आएका छैनन् । तिनीहरूले शब्दहरू सही ठाउँबाट झिकी परिवर्तित गर्दछन् र भन्दछन् कि यदि तिमीलाई यही आदेश प्राप्त हुन्छ भने त्यसलाई स्वीकार गरिहाल्नु र यदि यो आदेश हुँदैन भने अलग्गै रहनु र यदि कसैलाई अल्लाहले बाटोबाट विचलित गर्न चाहन्छ भने त्यसको निम्ति तपाईंलाई अल्लाहबाट अलिकति पनि अधिकार छैन । यिनी त्यस्ता मानिसहरू हुन् जसका हृदयलाई अल्लाहले पवित्र गर्न चाहेन । तिनीहरूको निम्ति संसारमा पनि ठूलो तिरस्कार छ र आखिरत (परलोक)मा पनि ठूलो सजाय छ ।