१२६) (अल्लाहबाट जवाफ आउनेछ) यस्तै हुनुपथ्र्यो तिम्रो नजिकमा जब हाम्रा आयतहरू आए तब तिमीले बिर्सिदियौ, यस्तै किसिमले आज हामीले तिमीलाई बिर्सिदिने गर्छौ ।
१२७) यस्तै किसिमले हामीले त्यसलाई प्रतिफल दिन्छौं जसले मर्यादाको उल्लंघन गर्दछ र आफ्नो पालनकर्ताको आयतहरूमाथि ईमान ल्याउँदैन । र निःसंदेह आखिरतको यातना त अत्यन्त कठोर र निकै स्थायी हुनेछ ।
१२८) अनि के उनीहरूलाई यस कुराबाट पनि मार्ग प्राप्त भएन कि हामी उनीहरूभन्दा पहिला कैयन् पुस्ताहरूलाई नष्ट गरिसकेका छौं, जसका बस्तीहरूमा यिनीहरूले हिंड्डुल गरिराखेका छन् ? निश्चय नै बुद्धिमानहरूको निम्ति यसमा धेरै निशानीहरू छन् ।
१२९) यदि तिम्रो पालनकर्ताबाट पहिले नै एउटा कुरा निश्चित नभइसकेको भए र एउटा अवधि निश्चित नगरिसकिइएको भए, अवश्य नै तिमीहरूलाई यातनाले तुरुन्तै समातिहाल्ने थियो ।
१३०) अतः जे जति तिनीहरूले भन्छन त्यसमाथि धैर्य गर, र आफ्नो पालनकर्ताको गुणगान गर्दैगर, सूर्योदयभन्दा अगाडि, र त्यो अस्ताउनुभन्दा अगाडि र रातीको समयमा पनि तसबीह (गुणगान) गर, र दिनका अनेक भागहरूमा पनि, सम्भव छ तिमी सहमत हुनसक ।
१३१) र ती कुराहरूतिर आफ्नो आँखा उठाएर पटक्कै नहेर, जुन हामीले तिनीहरूमध्ये विभिन्न मानिसहरूलाई संसारमा उपभोगको निम्ति दिएका छौं, ताकि हामीले त्यसबाट उनीहरूको परीक्षा लिन सकौं । त्यो त मात्र सांसारिक जीवनको शोभा हो । तर तिम्रो पालनकर्ताबाट तिमीलाई प्रदान गरिएको जीविका मात्र उत्तम र स्थायी छ ।
१३२) आफ्नो घरका मानिसहरूलाई नमाजको आदेश गर र स्वयम् पनि त्यसमा लागिराख । हामीले तिमीसँग जीविका माँग्दैनौं बरु हामीले स्वयम् तिमीलाई जीविका दिन्छौं, र राम्रो परिणाम त धर्म परायणताकै लागि निश्चित छ ।
१३३) तिनीहरूले भने किः यस नबीले आफ्नो पालनकर्ताको तर्फबाट हामीतर्फ कुनै निशानी किन ल्याएको छैन ? के तिनीहरूसम्म त्यसको स्पष्ट प्रमाण आइपुगेन, जुन पहिलेको पुस्तकहरूमा उल्लेखित छन् ?’’
१३४) र यदि हामीले त्यसभन्दा पहिला नै यिनीहरूलाई कुनै यातनाबाट नष्ट गरिदिएको भए, निःसन्देह यिनीहरूले भन्थे कि ‘‘हे हाम्रो पालनकर्ता, तिमीले हाम्रो पासमा कुनै रसूल किन पठाएनौ ? ताकि हामी अपमानित र निराश हुनुभन्दा अगाडि तिम्रा आयतहरूको अनुपालन गर्ने थियौं ?’’
१३५) भनिदिनुस्ः प्रत्येक (व्यक्ति) परिणामको प्रतीक्षामा छ । अतः अब तिमी पनि प्रतीक्षा गर शीघ्र नै तिमीले थाहा पाइहाल्ने छौ कि को सीधा मार्गवाला छन् र कसलाई मार्गदर्शन प्राप्त छ ।’’