२) के मानिसहरूलाई आश्चर्य लाग्यो कि हामीले तिनीहरूमध्येबाट नै एउटा मानिसलाई आदेश पठायौं कि मानिसहरूलाई चेतावनी सुनाइदेऊ र ईमान भएकाहरूलाई शुभसन्देश दिइहाल कि उनीहरूको पालनकर्ताकहाँ उनीहरूलाई पूरा प्रतिफल र उच्च स्थान प्राप्त हुनेछ । काफिरहरूले भने कि यो मानिस स्पष्टरूपमा जादूगर हो ।
३) निःसन्देह तिम्रो पालनकर्ता त अल्लाह नै हो, जसले आकाश र पृथ्वीलाई छ (६) दिनमा सृष्टि गर्यो । अनि आफू सिंहासनमाथि उच्च भयो । उही हरेक कुराको प्रबन्ध र सञ्चालन गर्दछ । कसैले (उसको समीपमा) उसको अनुमति प्राप्त नगरिकन सिफारिश गर्न सक्तैन । यही अल्लाह तिम्रो पालनकर्ता हो, तसर्थ उसैको पूजा गर । के तिमीहरू अझै उपदेश ग्रहण गर्दैनौ ।
४) तिमी सबैलार्इ फर्केर उसैको पासमा जानु छ । अल्लाहको वाचा सत्य छ । निःसन्देह उसैले पहिले पटक सृष्टि गरेको छ र उसैले दोस्रो पटक पनि सृष्टि गर्नेछ ताकि ईमानवाला र सत्कर्म गर्नेहरूलाई न्यायोचितरूपले पुरस्कार प्रदान गर्न सकोस् । र जो काफिर छन् तिनीहरूको निम्ति अत्यन्त उम्ली रहेको पिउने पानी र कष्टदायक सजाय हुनेछ त्यस इन्कारको (कुफ्रको) बदलामा जुन उनीहरूले गरे ।
५) ऊ अल्लाह नै हो जसले सूर्यलाई प्रकाशमान र चन्द्रलाई ज्योतिमय बनायो र यसको लागि विभिन्न स्थितिहरू स्थापित गर्यो, ताकि तिमीले वर्षहरूको गणना र हिसाब थाहा पाउने गर । यी सबै कुराहरू अल्लाहले सत्यको साथ सृष्टि गरेको छ । बुझ्नेहरूको लागि उसले आफ्ना आयतहरू स्पष्टरूपमा वर्णन गर्दैछ ।